आलुखेतीमा आत्मनिर्भर हुँदै व्यास नगरपालिका

तनहुँको व्यास नगरपालिका आलुखेतीमा आत्मनिर्भरउन्मुख हुँदै गएको छ ।

नगरपालिकाका १४ वडामध्ये अधिकांश क्षेत्रमा आलुखेती राम्रो हुने गरेकाले आत्मनिर्भर बन्न सक्ने हैसियतमा पुगेको हो ।

आलुखेतीको लागि व्यासका ५ देखि १२ नम्बर वडामा धेरै परिमाणमा आलुखेती हुने गरेको नगरपालिका कृषि शाखाका प्रमुख अधिकृत विश्वराज वाग्लेले जानकारी दिए ।

गत वर्ष ३६ मेट्रिक टन आलुको बीउ किसानलाई ५० प्रतिशत अनुदानमा दिँदा झण्डै २५२ मेट्रिक टन आलु उत्पादन भएको उनले बताए । प्रतिकिलो ७५ रुपैयाँको आलु ३७.५० रुपैयाँमा किसानलाई अनुदानमा दिइएको हो ।

नगरपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा १२ लाख रुपैयाँको आलुको बीउ वितरण गरिएको हो । आलु उत्पादनका लागि कार्यालयले प्रोत्साहनमूलक कार्यक्रम ल्याएपछि किसान उत्साहित भएर लागेको शाखा प्रमुख वाग्लेले जानकारी दिए ।

भदौमा आलुखेती गर्ने हो भने वर्षमा २ मौसम आलुखेती गर्न सकिने हुँदा व्यास क्षेत्र आत्मनिर्भर बनी अन्यत्र समेत निर्यात गर्न सकिने उनले बताए । ३ महिनामा उत्पादन गर्न सकिने र यहाँका खेत र पाखोमा आलु उत्पादन राम्रो हुने गरेको बताइएको छ ।

किसानले प्रतिबोरा ३५० देखि ५०० रुपैयाँसम्म तिरेर पोखरा वा चितवनका चिस्यान केन्द्रमा आलुको बीउ लगेर राख्नुपर्ने बाध्यता रहिआएको छ । यस वर्षदेखि प्रयोगमा ल्याउने गरी नगरपालिकाले चिस्यान केन्द्र निर्माण गरिरहेको छ । उनले भने, ‘चिस्यान केन्द्र बनेपछि किसानले महंगो शुल्क तिरेर ढुवानी र भण्डारमा राख्नुपर्ने समस्याको अन्त्य हुनेछ ।’

नगरपालिकाले व्यास क्षेत्रका किसानले उत्पादन गरेका कृषिजन्य वस्तु भण्डारण गर्दा सुलभ र सस्तो दरमा राख्ने योजना बनाएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले आव २०७९/०८० मा सञ्चालन गर्नुपर्ने क्रमागत योजनाअनुरूप नगरपालिका–११ स्थित रानीगाउँ नजिक चिस्यान केन्द्र निर्माण गरिरहेको छ ।

चिस्यान केन्द्रका लागि ७ लाख ३३ हजार ७२८ रुपैयाँ बजेट विनियोजन भएको छ । चिस्यान केन्द्रको निर्माण अन्तिम चरणमा पुगेको छ ।

तपाईको प्रतिक्रिया