बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो ट्रान्सप्लान्ट युनिट बनाउने प्रक्रिया शुरु

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चार शय्याको बोनम्यारो ट्रान्सप्लान्ट युनिट निर्माण गरिने भएको छ । चीन सरकारको आर्थिक सहयोगमा युनिट निर्माण गर्न लागिएको हो । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार युनिट निर्माणका लागि जग्गाको नापजाँच गरिएको छ ।

११ करोड रुपैयाँको लागतमा युनिट निर्माण गर्न लागिएको हो । चिनियाँ प्राविधिकहरूसँग यस विषयमा छलफल गरिएको उहाँले बताउनुभयो । अर्बुद रोग (क्यान्सर)का कारण बोनम्यारो फेर्नुपर्ने बिरामीलाई विदेश जानबाट रोक्न यो काम गर्न लागिएको हो ।

बोनम्यारो फेर्न नेपालबाट एक महिनामा १०–१२ जना भारत जाने गरेको उहाँले बताउनुभयो । युनिट सञ्चालनमा आएपछि विदेश जानुपर्ने बाध्यता हट्ने उहाँको विश्वास छ । निर्माण शुरु गरेको दुई वर्षमा काम सम्पन्न गरेर सेवा शुरु गर्ने योजनामा अस्पताल रहेको छ ।

तपाईको प्रतिक्रिया