राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु दुर्भाग्यपूर्ण र संविधानको ठाडो उल्लंघन: कांग्रेस

सरकारको नेतृत्वको गरिरहेको दल नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु दुर्भाग्यपूर्ण र संविधानको ठाडो उल्लंघन भएको बताएको छ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले संसदले दुई पटक पारित गरेको विधेयकमा नयाँ विषय नभएको बताए।

‘यो विधेयकमा कुनै नयाँ व्यवस्था गरिएको थियो। यस्तै व्यवस्थासहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको अध्यादेश राष्ट्रपतिले तत्काल प्रमाणीकरण गर्नुभएको थियो,’ महतले भने,‘अहिले संसदले दुई पटक पारित गरेर पठाउँदा पनि प्रमाणीकरण नगर्नु दुर्भाग्यपूर्ण र संविधानको ठाडो उल्लंघन हो।’

नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति भण्डारीले निर्वाचनको मुखमा यो विषयलाई राजनीतिक रङ दिन कोशिश गरेको पनि महतले बताए।

‘भ्रमको खेती गर्ने कोशिश भएको छ। निर्वाचनका बेला पक्कै यस विषयमा बहस होला,’ उनले भने।

संसदले पहिलो पटक पारित गरेर पठाएको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपति भण्डारीले पुनर्विचार गर्न फिर्ता पठाइदिएकी थिइन्।

संसद उक्त विधेयक फेरि हुबहु पारित गरेर पठाएपछि राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरेकी हुन्।

तपाईको प्रतिक्रिया